काठमाडौं। नेपाली क्रिकेट टोली पाकिस्तान ‘ए’सँग पराजित भएको छ। एसियन कप राइजिङ स्टार अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली टोली पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको हो।
कतारको दोहामा टस जितेर ब्याटिङमा उत्रिएको पाकिस्तान ४२ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको थियो। १६९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपाल ७२ रनमै अलआउट भयो। नेपालका लागि मयन यादवले ४१ रन बनाउनु बाहेक अन्य खेलाडी ब्याटिङमा चलेनन्।
नेपाली ब्याटिङ धराशायी बनाउन मोहम्मद हसनयन र सुफयान मोक्विनले समान ३ विकेट लिँदा मोहम्मद इमरानले २ तथा माज सदक्वदले १ विकेट लिए।
त्यसअघि पाकिस्तानका रोहिल नाजिरले ६४ रनको अर्धशतकीय इनिङ्स खेल्दा हसन नवाजले २८ तथा अहमद ड्यानियले १६ रन बनाए। बलिङमा नेपालका राशिद खानले ५ विकेट लिँदा अभिषेश गौतमले २ तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट लिएका थिए।
यो सँगै समूह ‘बी’बाट भारत र पाकिस्तान सेमिफाइनल पुग्दा नेपाल र यूएई बाहिरिएका छन्।