वीरगंज , मंसिर ५ –
वीरगंज–१२ बाइपास सडकस्थित ब्रह्मचोक नजिक टायर र मोबिलका दुईवटा गोदाममा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
दिलबन्धु पेट्रोलपम्प नजिक रहेको उत्कृष्ट ट्रेड कन्सर्नको टायर गोदाम र एभरेष्ट लुब्रिकेन्ट प्रा.लि.को मोबिल गोदाममा शुक्रबार मध्यराति साढे १२ बजेदेखि आगलागी भएको हो। दुवै व्यापारिक प्रतिष्ठान बाराको जीतपुरसिमरा–२ निवासी देवेन्द्र सत्यालले सञ्चालन गर्दै आएका थिए।
आगलागी नियन्त्रणमा लिन वीरगंज महानगरपालिकाका दुईसहित पोखरिया, पर्सागढी, जीतपुरसिमरा, कलैया, सिर्सिया सुक्खा बन्दरगाह र नेपाली सेनाका गरी आठवटा वारुणयन्त्र परिचालन गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा करिब ६ घण्टापछि शनिबार बिहान ६ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
उनका अनुसार आगलागीबाट दुवै गोदाममा रहेका सामान र भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनामा कुनै मानवीय क्षति नभए पनि भौतिक क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन्।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।