वीरगंज , मस्निर ५ –
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ। घटनामा एक बालक गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मामाथि बन्चरो प्रहार गरेका थिए।
घाइते चारै जनालाई उपचारका लागि दुल्लु अस्पताल पुर्याइएको थियो। त्यहाँ १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई चिकित्सकले मृत घोषणा गरेका थिए।
गम्भीर घाइते मनिषा र छोरा मिलनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएकोमा उपचारकै क्रममा मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ। ६ वर्षीय मिलनको उपचार भइरहेको छ।
घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।